2 महिना अगाडी
2081-08-05
माननीय गृह मन्त्री रमेश लेखकज्यूको प्रमुख आतिथ्यमा नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी कैलालीको धनगढीमा सम्पन्न भएको छ । उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, प्रमुख सचिव, नेपाल प्रहरी महानिरीक्षक, सशस्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, नेपाली सेनाका उपरथी, सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।
गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममूखि हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरू चुस्त दुरूस्त हुनुपर्ने बताउनुभयो । साथै आसन्न उपनिर्वाचनलाई शान्तिपूर्वक, निष्पक्ष र स्वतन्त्र रूपले सम्पन्न गर्न उहाँले निर्देशन समेत दिनुभयो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो ।
© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय
Powered By: ProActive Developers